कोरोना त्रासदी, मानवजाति र जिजीविषा

news

विश्व अहिले कोरोना महामारीको त्रासदीमा छ। समस्त मानव जातिमै फैलिएको यो सन्त्रास सायद यस शताब्दीकै डरलाग्दो हो। पहिलो विश्वयुद्घको हाराहारीमै आएको एसियन फ्लुले जनको ठूलो क्षति भए पनि युद्घको वातावरण, चिकित्सा विज्ञानको विकासको अवस्था र सञ्चार क्षेत्रमा चामत्कारिक प्रवर्तन भइनसकेकाले अहिलेको जस्तो आतंक नदेखिएको होला। दोस्रो विश्वयुद्घको बेला समेत यसको प्रभावमा नपर्ने थुप्रै समाज थिए—सामाजिक पिछडापनले होस् वा भौगोलिक अवस्थितिले वा युद्घमा असंलग्नताको कारणले। यसपछिका हङकङ फ्लुजस्ता भाइरलले लाखौं मानिसको ज्यान लिए पनि अहिलेको जस्तो मनोवैज्ञानिक भयसञ्चार भएको थिएन।

विश्वभरका समस्त मानव जाति नै यस महामारीबाट काँपेका छन् र आफ्नो जीवनचर्यालाई कोठाभित्र सीमित गरेका छन् त्यो पनि महिनौंसम्म। सायद यही हो मृत्युको डर र मानिसको जिजीविषा। समाचार सुन्दा मानव सभ्यता नै विघटनको संघारमा पुगेको आभास दिन्छ। सम्पूर्ण मानव क्षमता, मस्तिष्क र सामर्थ्य यस प्रलयकारी ‘भाइरल’ सँगको लडाईंमा लागेको छ। जित पक्कै मानवहरूकै हुन्छ, तर यसले वनाएको घाउ निको हुन युगौं लाग्ने निश्चित छ।

मानव जातिले आफ्नो इतिहास गौरवपूर्ण बनाएको छ। आफ्ना हरेक कालखण्डमा अकल्पनीय प्रगति गरेको छ। हाम्रा वैज्ञानिकहरू, अन्वेषक र प्रवर्तकहरूले शाश्वत मानिएका प्रकृतिका नियममाथि नै विजय हासिल गरेका छन्। त्यसैले त मानिस सर्वोत्कृष्ट प्राणीमा जनिएको छ। तर, बेलाबेलामा प्रकृतिले मानव जातिलाई नयाँ चुनौती दिएर आफ्ना सीमा सम्झाइदिन्छ। अहिलेको यो अजीव वस्तुको सृष्टि मानव जातिलाई अर्को यस्तै चुनौती हो जस्तो लाग्छ। नत्र असाध्य मानिएका रोग, व्याधीलाई ठीक गर्न नवीन आविष्कार गर्ने हाम्रा वैज्ञानिक, सुक्ष्मतम् जीव र वस्तुलाई विनष्ट गर्ने सूत्रको आविष्कारक र अन्तरिक्षमा आफ्नो प्रभुत्व जमाउन प्रयासरत भौतिकशास्त्री अहिलेको यो ‘प्याण्डेमिक’ सँग किन सातो गएको जस्ता देखिएका छन् ? कोरोना भाइरस न जीव हो न निर्जीव नै। सृष्टिमा पाइने समस्त जीव र निर्जीव वस्तु, चर र अचर केही नभई अनौठो तत्व हो।

यो चीनबाट विश्वभर विस्तार भइसकेकोले ‘चर’ हो, तर जीव होइन। यो अर्धजीव हो जसले अरू जीवबाट जीवमा उत्परिवर्तन गर्दछ। यसैले यस्ता भाइरस वैज्ञानिकका लागि पनि चुनौती खडा गर्दछन्। मार्नलाई यो जीव होइन, प्रहार गर्न शरीर छैन र निन्दा गर्न यसको आत्मा नै हुँदैन। त्यसैले प्रकृतिको यो विकृत सिर्जनादेखि अति शक्तिशाली ठान्नेहरूसमेत गलिसकेका छन्। वैज्ञानिक आफ्ना मस्तिष्क यसलाई पराजित गर्ने उपायको खोजीमा दिनरात खटिएका देखिन्छन्। यस्तो अचुक अस्त्र जसले पूर्णरूपमा यसलाई पराजित गर्न सकोस्। अहिलेसम्म कोरोना भाइरस महाकालको रूपमा कोलाहल मच्चाउँदै विश्वभर फैलिरहेको छ। कतिलाई यसले निलिसक्यो र कतिलाई निल्नेछ। मानव जाति भने सानो कोठाभित्र लुकेर यसलाई मैदान खाली गर्दैछन्।

विगतका महामारी

विगतमा पनि भयंकर विश्वव्यापी महामारीबाट ज्यादै ठूलो मानिसको क्षति भएको देखिन्छ। त्यसमा सन् १३४६ देखि १३५२ सम्मको ‘बुवोनिक प्लेग’ अहिलेसम्मकै सबभन्दा खतरनाक थियो। ‘ब्ल्याक डेथ’ भनिने यस महामारीले झन्डै २० करोड मानिसको मृत्यु भएको थियो। यसबाट युरोपको तत्कालीन जनसंख्याको एकतिहाइको नै मृत्यु भएकाले त्यहाँको सामन्ती कृषि प्रणाली र अन्य उत्पादन प्रणालीमा नै आमूल परिवर्तन हुन गएको इतिहास छ। अर्को ठूलो महामारी सन् १९१८ देखि १९२० सम्म रह्यो। एसियन फ्लु भनिने यसले पाँच करोडको मृत्यु भएको भनिन्छ। भारतमा मात्रै झन्डै दुई करोडको मुत्यु भएको भनिन्छ।

नेपालमा विसं १९७७ सालको महामारी यसैको कारण भएको मानिन्छ। सञ्चार र सम्पर्कको तत्कालीन स्थितिले गर्दा त्यसबेला नेपालमा कति मरे कुनै लेखाजोखा नै भएको देखिँदैन। पंक्तिकारलाई हजुरबुवाले सुनाएअनुसार गाउँभर लास यति धेरै हुन्थ्यो कि युवा लासको अन्त्येष्टि सिध्याएर आउँदा अर्को लास तयार भइसकेको हुन्थ्यो। यस्तो महामारीको कारण त्यसबेला न नेपालीलाई थाहा थियो न त उपचार विधिको ज्ञान थियो। सन् २००५ मा कंगोबाट पहिचान भएको एचआईभी एड्सले पनि झन्डै तीन करोडभन्दा बढीको ज्यान लिएको थियो भने सन् १९६८ को हङकङ फ्लुले १० लाखको मृत्यु भएको थियो।

    कोरोना महामारीले सामाजिक परिवर्तन भने सकारात्मक नै गर्ने संकेत देखिएका छन्। राजनीतिले गरेको विभाजन, धर्मले खडा गरिदिएको पर्खाल, संस्कृतिले ल्याएको सामाजिक पृथकता यसले एक हदसम्म भत्काइदिएको छ। यसलाई सुखद् लक्षण मान्नुपर्छ।

अहिले कोरोना भाइरसबाट लेख तयार गर्दासम्म १२ लाख बढीमा संक्रमण भएसकेको र झन्डै  उनन्सत्तरी हजारको ज्यान गइसकेको छ। मानिसको मृत्युको संख्या हेर्दा अन्य पहिलेका महामारी जस्तो नदेखिए पनि यसको तीव्र विस्तार अति डरलाग्दो देखिँदैछ। अर्को कुरा, चिकित्सा विज्ञानको क्षेत्रमा भएको विकासले पनि यसको असरबारे सतर्क गराएको कारण मानिस सामाजिक दूरी राख्न आआफ्नै घरमा रहन वाध्य भएका छन्। यसको रोकथामका लागि वैज्ञानिक जगत अहोरात्र खटिरहेकाले चाँडै यसबाट मुक्ति पाउने आशा गर्न सकिन्छ। तर, मानिसको मस्तिष्कमा सञ्चार भएको मनोवैज्ञानिक भयको उपचार कसरी गर्ने हो चुनौती थपिएको छ। विश्वभर सात अरब मानिस घरभित्र सीमित रहेको अहिलेको जस्तो स्थिति भने मानव सभ्यताकै इतिहासमा अभूतपूर्व हो।

सलाम वास्तविक ‘हिरो’ हरूलाई

यस डरलाग्दो महामारीमा मृत्यु हुनेहरूको मलामी समेत नहुने, आफन्त र परिवारविना नै अन्त्येष्टि गर्नु परेको कारुणिक समाचार सुनिने गर्दछ। यसको संक्रमणको डरले यस्तो दुःखद् स्थिति आएको हो। मानिसमा सबभन्दा ठूलो डर नै मृत्युको हो। नेपालमा पनि घाटमा कोरोनाबाट मृत्यु हुनेहरूको लास जलाउने घाटेहरूलाई ‘पीपीई’ को व्यवस्था गरेबाट पनि कति भयावह अवस्था छ बुझ्न सकिन्छ।

यस्तो त्रासदीमा पनि विश्वभरका चिकित्साकर्मी कोरोनासँग लड्दै यसबाट संक्रमित बिरामीको उपचारमा अहोरात्र खटिरहेका छन्। कोरोनाको उपचार गर्दा उनीहरू नै यसको सिकार भएको समाचार दैनिकजसो सुनिन थालेको छ। अहिलेसम्म सयौं डाक्टर, नर्सहरूको यसको संक्रमणबाट मृत्यु भइसकेको छ। चीनमा त हालै कोरोनाबाट मृत्यु हुने दुई दर्जनभन्दा बढी डाक्टरहरूलाई सहिद घोषणा गरिएको छ। स्पेन र इटालीका डाक्टर र स्वास्थ्यकर्मीको हृदयविदारक कथा सामाजिक सञ्जालहरूमा आइरहेका छन्।

नेपालमा पनि हाम्रा डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी मृत्युसँग खेलेर कोरोना संक्रमितको उपचारमा खटिरहेका छन्। परिवारसँग अलग्गिनु पर्नाको पीडा, काखे बालक छाड्नुको व्यथा एकातिर छँदैछ डेरा गर्नेहरूलाई घरधनीले डेरा छाड्न गरेको अमानवीय व्यवहार असह्य हुँदा पनि यी स्वास्थ्यकर्मी उपचारमा तल्लिन छन्। यही हो पेसागत धर्म, बिरामीको सेवा गर्ने व्यावसायिक नैतिक मूल्य र सबभन्दा ठूलो चिकित्साकर्मीको गौरवपूर्ण परम्परा। धन्य छन् यी डाक्टरहरू जो भगवानको रूपमा आएका छन्, पूजनीय छन् नर्स र अन्य स्वास्थ्यकर्मी जो देवी र देवगणको रूपमा उपचार गर्दैछन्। यिनै वास्तविक नायक हुन् र उनीहरूप्रति नतमस्तक भई कृतज्ञ हुनुपर्छ।

कोरोना महामारीमा सरकारी र निजी क्षेत्र

राज्य र सरकार नागरिकहरूको सुरक्षाका लागि आविष्कार भएका मानिन्छन्। नागरिक सुरक्षाका विविध आयाममध्ये प्रमुख हो स्वास्थ्यसम्बन्धी सुरक्षा। सुरक्षापछि मात्र अन्य जिम्मेवारी पर्छन्। त्यसैले अमेरिकी संविधान निर्माणको क्रममा जेफर्सनले लेखेका थिए—मानवीय जीवन र खुसीको हेरविचार गर्नु असल सरकारको पहिलो र वैधानिक काम हो।’ यस जिम्मेवारी निर्वाह गरेर आफू जनउत्तारदायी सरकारसिद्घ गर्न नेपाल सरकार समर्पित भएर लागेको देखिन्छ। यसका लागि सबै नेपाली नागरिकले स्वागत गर्नुपर्छ, सहयोग गर्नुपर्छ। कर्मचारीतन्त्र सरकारको ‘डेलिभरी विङ’ भएकाले यस संकटको घडीमा आफ्नो भूमिका निर्वाह गरिरहेकै छ।

नेपालको कर्मचारीतन्त्रबारे नकारात्मक टिप्पणी हुने गरे पनि बेलाबेलामा आएका राष्ट्रिय संकट निवारणमा प्रशंसनीय भूमिका निर्वाह गरेको गौरवपूर्ण अतीत छ। सात सालदेखि त्रिसठ्ठी सालसम्मको राजनीतिक संकटको सफल अवतरणमा सघाएको देखिन्छ। अझ समाजका अन्य संस्थाहरूले काम गर्न छाडेको बेला यसले राज्यको उपस्थिति देखाएको छ। विगतको सशस्त्र द्वन्द्वकाल यसको उदाहरण हो। यस महामारीमा पनि कर्मचारीतन्त्रले आफ्नो भूमिका राम्ररी निर्वाह गरिरहेको छ।

निजी क्षेत्रको आर्थिक शक्ति यस संकटमा काममा आउनुपर्छ। यहाँ चिनियाँ दार्शनिक कन्फ्युसियसका यी भनाइ मननयोग्य लाग्छन्, ‘देश व्यवस्थित हुँदा गरिब हुनु लाजको विषय हुन्छ, जब देशमा गडबड हुन्छ त्यस बेला धनी हुनु शरमलाग्दो हुन्छ।’ त्यसैले विश्व महामारीको यो बेला विश्वका धनी ठूलो आर्थिक सहयोग गर्दैछन्। अलिबाबाका संस्थापक ज्याक मां, माइक्रोसफ्टका बिल गेट्स, भारतका चलचित्रका नायक अक्षयकुमारदेखि अन्य सेलिब्रेटी उदारमनले कोरोनाविरुद्घको युद्घमा सघाइरहेका छन्। नेपालमा पनि केही व्यापारिक घरानाले सहयोगको हात बढाए पनि यस क्षेत्रबाट अझ बढी सहयोगको अपेक्षा गर्न सकिन्छ।

कोरोनाको परिणाम

कोरोनाको महामारीले विश्व अर्थतन्त्रमा पर्ने प्रभावबारे भविष्यवाणी गर्ने क्रम सुरु भइसकेको छ। यसले आर्थिक मन्दी ल्याउने, आर्थिक वृद्घिदरमा निकै कमी आउने, बेरोजगारी दरमा व्यापक वृद्घि आउने जस्ता विश्लेषण अर्थशास्त्रीको छ। एसियाली विकास बैंकले त एसियाको अर्थतन्त्र चौपट हुने, यस क्षेत्रको आर्थिक वृद्घिदर सन् २०२१ मा २ प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण गरेको छ। नेपालको आर्थिक वृद्घि ५. ३ प्रतिशतमा झर्ने, लकडाउनको कारणले उद्योगधन्दा र व्यवसाय प्रभावित बनेको,रेमिटेन्स घट्ने भएकाले आर्थिक वृद्घिमा कमी आउने एसियाली विकास बैंकको प्रक्षेपण रहेको उसको २०२० को प्रतिवेदनमा उल्लेख छ। यो महामारी अझ लम्बिएमा यो प्रक्षेपणभन्दा पनि अत्यासलाग्दो अवस्था नेपालको हुनेमा शंका छैन।

अन्य क्षेत्रमा जेजस्तो परिणाम आए पनि कोरोना महामारीले सामाजिक परिवर्तन भने सकारात्मक नै गर्ने संकेत देखिएका छन्। राजनीतिले गरेको विभाजन, धर्मले खडा गरिदिएको पर्खाल, संस्कृतिले ल्याएको सामाजिक पृथकता यसले एक हदसम्म भत्काइदिएको छ। यस संकटले विश्वभरका मानव जाति मानव सभ्यता जोगाउन, मानव सुरक्षाका लागि राष्ट्रियताको संकुचित घेरा तोडेर एक भएका छन्। ‘वशुधैव कुटुम्बकम्’ को आदर्शमा एक भएका छन्। ‘अँध्यारोमा सबै रंग एक हुन्छन्’–विचारक ब्याकनका यी भनाइ अहिले चरितार्थ भएको छ। यो नै महामारीले दिएको शिक्षा हो। अन्त्यमा चिनियाँ ताओवादका प्रवर्तक लाओत्सेका यी दार्शनिक भनाइ मनन गर्नुपर्छ, ‘प्रकोप समृद्घिको मार्ग हो भने समृद्घि प्रकोप छोप्ने पर्दा हो।’ ठूला प्रकोपपछि पक्कै सुख समृद्घि आउँछ जसरी ‘ब्ल्याक डेथ’ पछि युरोप प्रगतिपथमा गएको थियो। हामी पनि आशावादी हुनुपर्छ।

Youtube Channel Link

प्रतिक्रिया